नेपाललाई सम्बृद्ध बनाउने सपना छ :डा.उपेन्द्र महतो

Published Date: Monday, March 13, 2017 | Source: NRNA NETHERLANDS

उपेन्द्र महतो एक आफैंमा एक पूर्ण परिचय बोकेको नाम हो । नेपालको सेवामा समर्पित एक नेपाली, उद्योगि अनी यस्तै यस्तै धेरै परिचय छन् उनको । हाल ग्रैर आवासिय नेपाली संघको अध्यक्षको रुपमा कार्यरत महतो नेपालको विकासका लागि नेपालबाहिर रहेका नेपालीको लगानी भित्र्याउन आवश्यक वातावरणको निर्माणमा लागेका छन् । उता, ग्रैर आवासिय नेपालीले कतै भोलिका दिनमा नेपाल नै विर्सने हुन् कि भनेर दोहोरो नागरिकता दिलाउन नेपालभित्रै संर्घषरत छन् महतो । 
यस्तै बेलामा हामीले यो अङ्गको अनौपचारिक कुराकानीमा उनै महतोको चयन गरेका छौं । जस्तो प्रश्न त्यस्तै उत्तर दिएर आफ्नो कुशलता देखाएका महतोसंगको अनौपचारिक कुराकानी अब आफैं पढ्नोस् हैत । 

नामः उपेन्द्र महतो 
जन्म स्थानः करजन्हा, सिरहा, नेपाल । 
अध्ययनः पिएचडी, डिएससी। 
पेशाः व्यवसाय, सामाजिक सेवा ।
१. तपाईको बाल्यकाल कसरी बित्यो ? 
गाउँको वातावरणमा भैंसी चराउँदै, खेलकुद गर्दै र पढ्दै ।

२. जीबनको प्राय सम्झना भइरहने क्षण के हो ? 
स्वर्गवासी आमाको सम्झना आइरहन्छ । अरु पनि थुप्रै घटना छन् खै के मात्र भन्ने ।

३. प्रारम्भमा तपाइ के बन्न चाहनुहुन्थ्यो ? 
स्कुलमा पहिलो पटक जब मलाई यो घर बनाउँदा कति ईंटा, बालुवा, सिमेन्ट लाग्छ त्यो पत्ता लाउने मान्छे ईन्जिनियर हो भनेर चकित पारियो त्यसै दिन मैले ईन्जिनियर बन्ने अठोट गरेको थिएँ ।

४. विवाह कसरी भयो ? 
सवै विवाह एरेञ्ज्ड नै हुन्छन् तर फरक यत्ति मात्र हो की प्रेम विवाहमा आफैं एरेञ्ज गर्नु पर्छ भने दोस्रो थरिको विवाहमा नातेदारहरुले एरेञ्ज गरिदिनु पर्छ । मेरो विवाह दोस्रो प्रकारको हो।

५. पहीलो दिन उनीसंग भेट्दा कस्तो लागेको थियो ? 
दुवै हात पखेटामा परिणत भएर उडुँउडुँ लागेको थियो ।

६. श्रीमतिको सबै भन्दा बढी मन पर्ने बानी के हो ? 
जति ढिलो आए पनि नरिसाउने र मन पर्ने कुरा मात्र गर्ने । 

७. मन नपर्ने बानी ? 
जति ढिलो आए पनि नरिसाउने (रिसाउने गरे अलि चाँडो घर फर्किन्थें की?) । 

८. झगडा कत्तिको पर्छ नी ? 
झगडा गर्ने निहुँ खोज्छु तर भेट्टाउँदै भेट्टाउँदिन । 

९. तपाइको विचारमा यौन के हो ? 
हावा, पानी र अन्न जस्तै जीवनलाई नभइनहुने सुन्दर चिज, जसले दुई प्रेमीलाई सवै भन्दा नजीक ल्याइदिन्छ । 

१०.विवाह अगाडिको यौन सम्बन्ध तपाईको दृष्टिकोणमा जायज कि नाजायज र किन ? 
मनले मान्यो भने जायज अन्यथा नाजायज । 

११. कत्तिको मदिरा पीउनु हुन्छ ? 
कहिले काँहीं साथीभाइसँग रमाइलोको लागि । 

१२. मन पर्ने मदिरा ? 
रुसमा बस्ने मान्छेले भोड्का बाहेक अरु कुन मदिराको नाम लिन्छ होला र ? । 

१३. खाना बनाउन आउछ ? 
खाना बनाउन मन पर्छ तर समय पाउँदिन । दाल-भात-तरकारी मिठै बनाउँछु । मासु धेरै मिठो बनाउँछु । आलुको चोखा र चुकौनी त झनै मिठो । 

१४. अरुले बनाएको खाना खाँदा र आफुले बनाएको खाना खाँदा कस्तो लाग्छ ? 
खाना खाँदा कसले बनायो भनेर कहिलै हेर्दिन । मलाई पस्किएको जस्तोसुकै खाना मन पर्छ । 

१५. नेपाली फिल्म कत्तीको हर्ेर्नुहुन्छ ? 
कहिलेकाँहीं । तर पछिल्लो समयमा कुनै पनि फिल्म हेर्न नभ्याएको धेरै भयो । 

१६. मन पर्ने नायिका ? 
सवै सुन्दर र प्रतिभावान् नायिकाहरु मलाई मन पर्छन् । 

१७. गीतसंगीतमा कत्तिको रुची लाग्छ ? 
धेरै । म राम्रो श्रोता हुँ । 

१८. आफुलाइ एकदम मन परेको कुनै गीत छ कि ? 
फूलको आँखामा फूलै संसार स्वरको माधुर्य र गीतको संदेशका कारण । 

१९. गीत पनि गाउनु हुन्छ कि ? 
अवश्य ! तर म एक्लै भएको बेला । 

२०. पैसा त धेरै कमाउनु भयो रे नी ? 
खान, लाउन, परिवार पाल्न एवं कहिलेकाहीं समाजसेवा गर्न पुगेकोछ ।

२१. जीवनमा पैसाको महत्व ? 
पैसा नै सबैकुरा होइन तर धेरै कुरा हो भन्ने दर्शनसँग सहमत छु । 

२२. कतिवटा देश घुम्नु भयो ? 
करीव चालिस जति । 

२३. मन पर्ने देश ? 
अद्‍भूत साँस्कृतिक र प्राकृतिक सौन्दर्य भएको मातृभूमि नेपाल । 

२४.पढाइमा कत्तिको रुचि छ ? 
निक्कै रुचि छ । तर समय अभावका कारण पछिल्लो समय पत्र-पत्रिकामा मात्रै भरपर्नु पर्ने स्थिति छ । कर्ण शाक्यको सोच निक्कै मन परेको पुस्तक हो । 

२५.राजनीतिमा कत्तिको रुचि छ ? 
गर्ने होइन, बुझ्ने रुचि छ ।

२६. मन पर्ने कुनै राजनेता छन् ? 
नेल्शन मण्डेला- त्याग, उदारता र भिजन का लागि । नेपालका त्यागी र इमान्दार नेताहरु पनि मलाई मन पर्छन् । 

२७. एकदिनको लागी तपाई प्रधानमन्त्री बन्नुभयो भने पहिलो काम के गर्नु हुन्छ ? 
नजाने गाउँको बाटै नसोध्नु । 

२८. तपाईको परिभाषामा जीवन के हो ? 
जीवन भनेको गति हो । 

२९. अनी मृत्यु नी ? 
गतिशील जीवनले थकाए पछिको आरामरुपि चीरनिन्द्रा । 

३०.जीवनमा गर्न चाहेको तर अहिलेसम्म नसकेको कुनै काम छ कि ? 
नेपाल जति सुन्दर छ त्यति नै शान्त र समृद्ध बनाउने सपना । 

३१.अन्तमा छुटेका केही छन् ? 
विदेशमा जब मेरो मुल्याङ्कन व्यक्तिगत क्षमताको आधारमा होइन की मेरो नेपाली पासपोर्टको आधारमा गरिन्छ त्यसबेला देश-विदेशमा छरिएर रहेका सवै नेपालीहरुले हातेमालो गरेर हाम्रो देशलाई समृद्ध नबनाए सम्म नेपाली जातिले सधैं अपमानित भइरहनु पर्नेछ भन्ने लागेर आउँछ र म नेपाल चाँडै शान्त र समृद्ध भएको सपना देख्‍न थाल्छु । स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले निस्‍वार्थभावले मुलुकलाई केन्द्रमा राखेर अठोट गरे हाम्रो त्यो सपना अवश्य पुरा हुन सक्छ । मातृभूमिप्रतिको हाम्रो प्रेम र निष्ठामा निरन्तर बृद्धि गराइरहन नेपाल युके डट कम जस्ता नेपालीभाषी अनलाइन पत्रिकाहरुले ठूलो भूमिका खेलिरहेका छन् । तपाईंहरुको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्दछु । 

प्रस्तुतीः चिरन - नेपालयुके डट कम