फ्रान्समा नेपाली : अनुराधा पौडेल (श्रोत: कान्तिपुर)

Published Date: Monday, March 13, 2017 | Source: NRNA NETHERLANDS

'मलाई त युरोपका नेपाली महिला हाम्रो बझाङका जस्तै लाग्यो' केही समयअघि युरोप भ्रमणमा आएका एमाले नेता भीम रावलले भने । उनी पेरिसमा नेपालको शान्ति प्रक्रियाबारे लामो व्याख्या गर्दै थिए । उनलाई यहाँका नेपाली महिलाको अवस्था बोधको सम्झना भएछ । 'सुखको खोजीमा युरोप पसेका नेपाली महिला दोहोरो मारमा पो परेछन्', उनी भन्दै थिए, 'एकातिर घरधन्दा र बच्चाको स्याहार-सुसार, अर्को तिर काम । पढ्ने-लेख्ने समय पनि नहुने रहेछ, भाषण-गोष्ठीमा आउन त झन् मतलबै नराख्ने रहेछन् ।' 
हो, नेपाली पुरुष युरोपेली भए । युरोपका विभिन्न देशका नागरिक पनि भए र कति हुने क्रममा छन् । पश्चिमेली समाज सतहमा देखेका छन् । नेपालमा फरिया र चोलो लगाएर दैनिक मेलापात गर्ने महिला पनि जिन्स पाइन्ट र टिसर्टमा ठाँटिएका छन् । एकहात अग्लो हिल भएका स्यान्डिल फेरेर हाफ कट्टुसाथ समुद्री किनारमा श्रीमानसँग क्याम्पिङ गर्न जाने भए । मानसिकता भने पुरुषमा उही नेपालीपन छ । ऊ पत्नीको देवतै ठान्छ आफूलाई । समाज युरोपको, व्यवहार खाँटी नेपाली । महिलाले सानोतिनो भए पनि काम गर, बचेको समय परिवारका सदस्यको स्याहार-सुसार र भान्सामा खर्च गर । त्यसबाट पनि बचेको समय टेलिभिजन हेरेर खर्च गर । अचेल त भारतीय टेलिसिरियल नेपालीका झन्डै सबैजसो घरमा छन् । 

यसैले युरोपमा बस्ो पनि अधिकांश नेपाली महिलाको चेतनास्तर उही सुदूर पश्चिमी महिलाको जस्तो हुँदैछ । नेपालमा सिकेको चेतना, महिला अधिकार तथा सशक्तीकरण यता आएपछि धनी हुने र पैसा कमाउने सपनाले भताभुङ्ग पारेका छन् । हाम्रो सोचाइ अचेल विश्लेषणात्मक होइन, सतही सुखभोग, हाम्रो ध्यान पढ्न-लेख्न र प्रतिस्पर्धामा होइन, सम्झौतापरस्त, सुविधाभोगतिर गएको छ । 

गत जूनमा गैर आवासीय नेपाली (एनआरएन)को क्षेत्रीय सम्मेलन जर्मनीको बोनमा भएको थियो । दुई-चार कुरा सिकिने र प्रवासी नेपालीका अधिकारबारे चर्चा हुने भएकोले म लोभिएँ । सम्मेलनको आकर्षण 'युरोपमा नेपाली महिलाको अवस्था' भन्ने कार्यपत्र थियो । कार्यक्रमको दोस्रो दिन कार्यपत्र प्रस्तुत हुने बेला एउटा छोटो कपाल भएकी रपकी सुन्दरी नेपाली महिला सारी र ब्लाउजमै मञ्चमा चढिन् । सबैले परर ताली बजाए । मैले झन् बेजोडले ताली बजाएँ, किनकि अघिका पात्र सबै पुरुष थिए । बल्ल एक महिला आइन् भनेर मेरा खट्टा भुइँमा थिएनन् । 

दुःखको कुरा, नेपाली सम्मेलनमा उनी जानी-नजानी अंग्रेजीमा भाषण गर्न थालिन् । अंग्रेजीले नपुगेपछि नेपालीमा पनि बोल्न थालिन् । एउटा हात नचाउन कम्ती भएपछि दुवै हात नचाउन थालिन् । उनले बोलेको त्यो नेपाली पनि २० औं वर्ष जर्मनी बसेका कारण ठूटो, भद्दा र अशुद्ध भइसकेको रहेछ । रसै नभएको सुन्तलाजस्तो । म हिस्स परेँ । सहभागीलाई हेर्न थालेँ । 

नेपालमा लगानी र अधिकारमा पुरुष कति सक्रिय छन् । नेपाली महिला कहाँ छन् ? नेपालमा एनआरएनले लगानी गर्ने कुरा गरिरहेछ, तर एनआरएनभित्रका युरोपेली महिलाको कति लगानी छिर्नेवाला छ नेपालमा ? के काम गर्छन्, नेपाली महिला यता ? प्रश्न अधूरै रहे । 

दुई वर्षमा मैले फ्रान्समा भोगेको एउटा अनुभूति छ । सभा, जुलुस, संगठन, छलफलबाहेक अधिकांश महिलाको बिहे, भोज र पार्टीमा बिगबिगी हुन्छ र त्यो बिगबिगीको पात्रमध्ये म पनि एक हुँ । गरगहना र सारीमा सजिएका महिलाको आतंक देख्दा त निकै धनी महिला रहेछन् भन्ने लाग्छ । सबै धनी नेपाली महिला फ्रान्स पलायन भएजस्तो पनि लाग्छ । जब नाचगानबाहेक अन्य कार्यक्रम हुन्छ, तब उनीहरूको उपस्थिति गायब । 

अर्को अनुभव हो, भोजमा महिलापात्र आफ्नै समूह बनाउँछन् । पुरुषका छेउछाउ पर्दैनन् । एकातिर बसेर खाना खान्छन् र घरायसी कुरा गर्छन् । न उनीहरूको कुनै संघ-संगठनका समितिमा सहभागिता छ न देश-विदेशको राजनीतिबारे । खासमा भन्ने हो भने नेपाली महिलालाई न आफ्नो मुलुकको अवस्थाबारे थाहा छ न यहाँकै । न आफ्ना छोराछोरीले यहाँ नेपालीपन र भाषा भुल्दै गएको बारे मतलब छ न यहाँ पनि विदेशी भनेर गरिएको जातिभेदबारे मतलब छ । 

महिला सम्बन्ध बढाउन र जोखिम मोल्न तयार छैनन् । वर्षौ यतै बसे पनि भाषाको राम्रो ज्ञान छैन । त्यसैले महिलाका हातमा बच्चा र वृद्धको स्याहार-सुसार, सरसफाइका काम पर्छन् । पसलमा बिक्रेता र हिसाब-किताबको काम र बच्चा पढाउने कमै होलान् । त्यो पनि यहाँको सरकारले तोकेको न्यूनतम तलबमा काम गर्नैपर्ने बाध्यतामा छन् महिला ।

Posted on: 2007-05-21 20:37:09