मिलनसार नेपालीः फैलिंदैछ पहिचान: विमल पोखरेल (लेख)

Published Date: Monday, March 13, 2017 | Source: NRNA NETHERLANDS

योकोहामा जापान, जुलाई १४

जापानको औद्योगीक शहर योकोहामाको चुरुमीस्थित अन्तराष्ट्रिय विद्यार्थी गृहमा हामी १ सय ५० भन्दा वढी विदेशी अनुसन्धानार्थी र विद्यार्थीहरु वस्दछौं । यहाँको ६० प्रतिशत हिस्सा चिनीया विद्यार्थीहरुले ओगटेका छन् भने दोस्रोमा कोरियनहरु आउँछन् । मंगोलियन, भियतनामी र स्थानीय जापानीहरु जत्तिकै संख्यामा हामी नेपालीहरु पनि छौं । आवास गृहमा म लगायत पाटनकी मनिता श्रेष्ठ, ललितपुर धापाखेलका जिज्ञान कुमार थापा र उहाँकी श्रीमती यशोदा वस्नेत गरी ४ जनाको उपस्थिति सवैका लागि प्रभावकारी वन्दै गएको छ । म वाहेक तिनैजना साथीहरु जापानी भाषाका धुरन्धर हुनुहुन्छ तर म वोल्न नजाने पनि कनिकुथी कुराको चुरो वुझ्न सक्ने भएको छु । 

आवास गृहका हरेक कार्यक्रमहरुमा नेपालको परिचय दिने कामलाई हामी कहिल्यै चुकाउँदैनौं । यहाँका सवै कर्मचारी र विद्यार्थीहरुले हामीलाई नेपाली भनेर प्रष्टसँग चिन्छन् । हाम्रो भाषामा नमस्ते, सुभप्रभात र स्वागत छ जस्ता शब्दहरु सिक्न धेरैजसो विदेशीहरु लालायीत छन् । नेपालमा सगरमाथा र वुद्धको जन्मस्थल लुम्विनी छ भन्नेमा अधिकांश एसियनहरुलाई पत्ता रहेनछ । सगरमाथा अर्थात चोमोलोङ्मा चीनमा छ, अनि वुद्धको जन्मस्थल भारतको वोधीगयामा छ भनेर अधिकांश देशका विद्यालयस्तरीय पाठ्यपुस्तकमा लेखिएको छ भन्ने सुन्दा हामीलाई खिन्न लाग्छ र ठाडो प्रतिवाद गर्दै वास्तविकता वताउन थाल्छौं । हाम्रो क्रियाशीलता र पहलकदमीले गर्दा नेपाल वारेका यावत वृतान्त सुन्ने र जान्ने अवसर सवैले प्राप्त गरेका छन् । हाम्रा वर्णन सुन्ने अधिकांश विद्यार्थीहरु जीवनमा एक पटक जसरी पनि नेपाल घुमेरै छाड्ने वाचा गर्छन् । हामी पनि आफ्नो देशको प्रचार गरेर विदेशीहरुलाई प्रभावित पार्न सकेकोमा आत्मैदेखि प्रफुल्ल हुन्छौं । 

दक्षिण एसियाको मात्र कुरा गर्दा हामी नेपाली वाहेक यस आवास गृहमा भारतीय, पाकिस्तानी, भूटानी र श्रीलंकन एक एक जना विद्यार्थीहरु वस्छन् । सार्क क्षेत्रका विद्यार्थीहरु एक आपसमा भेट हुँदा हामी सकभर हिन्दी भाषाको प्रयोगलाई प्राथमिकता दिन्छौं भने भारतीय र भूटानीहरुसँग मात्र भेट हुँदा नेपाली मै पनि काम चलाउने कोशीस गर्छौं । पाकिस्तानी सब्दर हामीलाई देख्नासाथ नमस्ते भन्दै हात जोड्छन्, हामी पनि विशाल सिन्धु घाँटीको सभ्यतासँग आम पाकिस्तानीहरुको तुलना गरेर उनको परम्परा र संस्कृतिको सम्मान गरिदिन्छौं । श्रीलंकाली संगीता पढाई र रोजगारीको चटारोले गर्दा अलि ब्यस्त छिन् तर पनि जापान वसाईका राम्रा नराम्रा पक्षवारे हामीसँग छलफल गर्न रुचाउँछिन् । 

हाम्रो सम्वन्धको घनिष्ठता भारतीय र भूटानीहरुसँग निकै गाढा वन्दै गएको छ । दक्षिण भारतको आन्ध्रप्रदेश राज्य अन्तर्गत काकिनडा जिल्लाका वशु तिवारी योकोहामा नेशनल यूनिभर्सिर्टीमा विद्यावारिधिका विद्यार्थी हुन् । उनी हरेक वेलुका मेरो कोठामा आउँछन्, समाज संस्कृति विज्ञान र प्रविधिका यावत विषयवस्तुहरुमा गफ गरेर मध्यरातमा आफ्नो कोठामा फर्किन्छन् । कुनै कानुनी वा प्रशासनिक अप्ठेरा आइपरेमा जिज्ञानजी लाई भेटेर परामर्श लिन्छन् । उनको लागि जापानी विद्यार्थी जीवनमा थापा जी र म कोशेढुङगा सावित भएका छौं । हाम्रो छलफलमा सहभागी हुादाहुँदा तिवारीजीले नेपाली भाषा वुझ्न थालेका छन् । नजानिदो किसिमले उनी नेपालको प्रशंसक वनिसकेका छन् कि नेपाली लोकगीत, नेपाली पहिरन, नेपाली वास्तुकला र नेपालको भूस्वरुप उनको छलफलका अंग वनिसकेका छन् । 

हामीले सवैभन्दा महत्वपूर्ण मित्रता भूटानी विद्यार्थी जाङवो दागोसँग वढाएका छौं । वर्षौंदेखि नेपाली भाषी भूटानीहरुलाई शरणार्थी वनाएर लखेटेको कथालाई मनभित्रै मारेर भएपनि इन्जिनियर दागोलाई नेपाल र नेपाली जातीको परिचय हार्दिकतापूर्वक दिइरहेका छौं । हामीसँगको जुनसुकै भेटमा पनि उनी नेपाली भाषा वोल्न मन पराउँछिन् । हैन हो दाजु - हालखवर कस्तो छ ? भन्दै तेस्रो तलामा टुप्लुक्क आइपुग्छिन् । हामीपनि उनलाई नेपालीमै वोल्ने वातावरण वनाइदिन्छौं । भूटानी दागोले नेपाली वोलेको सुन्दा अन्य विद्यार्थीहरु अचम्म मान्दै कौतुहलता ब्यक्त गर्छन् । यस्तो अवस्थामा दागो सान का सहज उत्तर छन् - भूटानको ५० प्रतिशत जनसंख्या नेपाली भाषी छन्, सवै भूटानीले नेपाली भाषा सामान्यरुपमा वोल्न जान्दछ । उनले यसो भनिरहदा नेपालको भाऊ वढेको सम्झेर हामी भने मख्ख पर्छौं । हाम्रा हरेक जमघट र समारोहमा भूटानीलाई निम्ता गर्न कहिल्यै छुटाउँदैनौं यसो गर्नुको हाम्रो एउटै स्वार्थ छ भूटानको भावी पुस्ताको दिमागमा नेपाली जाति दयालु, इमान्दार र मिलनसार हुन्छन् भन्ने छाप पार्ने ताकि वाँकी नेपालीलाई जोङ्खाभाषीहरुले सम्मानपूर्वक वाच्न दिऊन् । 

भूटानको निर्माण तथा आवास मन्त्रालयका वरिष्ठ योजना अधिकृत ड्रुक्पा डंकर यूएनसिआरडी नागोयाको ३५ औं तालिममा भाग लिन आएका आदिवासी भूटानी हुन् । ६ हप्ता लामो तालिमका सुरुवाती दिनहरु दिक्दार लाग्दो मानेका ड्रुक्पा नेपाली सहपाठी रवीन्द्र राई लाई भेटेर फुरुङ्ग भए । रवीन्द्रजीसँगको भेटले उनको जापान वसाई रसिलो भयो, खानपीन अध्ययन र प्रतिवेदन तयारीमा उनले रविन्द्र राईलाई नै साथी वनाए, परिणामतः उनको घरप्रतिको सम्झना हराउँदै गयो । कोवेको प्रकोप न्यूनीकरण केन्द्रमा भेटिएका डा. विष्णुहरि पाण्डेसँगको भेटले त उनी झनै हौसिए । आफ्नै पल्लाघरे छिमेकी जस्तो सम्झेर उनको सिकाई प्रक्रिया अघि वढ्यो डा. पाण्डेसँग । जुनको १५ तारिखमा टोकियो क्षेत्रको सुमिधा सिटी अफिसमा मसँग भेट हुँदा भुटानी ड्रुक्पा १२ हात परवाटै नमस्ते छ है भन्दै म भएतर्फ लम्किए । कुराकानी कै अवसरमा उनको कथन थियो - नेपालीहरुको अन्तराष्ट्रिय उपस्थिति तिव्रगतिमा प्रभावी हुँदैछ । आशा छ यसखालको प्रभाव अझ विस्तार हुनेछ, जसवाट भुटानीहरुले पनि भविष्यमा फाइदा उठाउन सक्नेछन् । 

कावासाकी शहरको कामाता रेल्वे स्टेशन आसपास भारतीय ब्यापारीको इण्डोवजार नामक होलसेल स्टोर छ । उनले आफ्नो ब्यापारीक केन्द्रको झ्यालमा नेपाली झण्डा फहराएका छन् । उनको केन्द्रमा नेपाली गीतका सिडी, नेपाली उत्पादनका सामान र जापानस्थित नेपाली संघ-संस्थाका सूचना देख्न सकिन्छ । यसो गर्नुको रहस्य खोतल्दै उनी खुलेर भन्छन् कि उनका ६० प्रतिशत ग्राहक नेपाली हुन् । उनको अनुमानमा जापानको खान्तो एरीया -टोकियो आसपास) मा भारतीय भन्दा नेपालीहरुको संख्या वढी छ र नेपालीहरुको खानपान, रहनसहन र चालचलन उत्तरभारतसँग मिल्दोजुल्दो छ । इण्डोवजारको ढोकावाट छिर्नासाथ लखनऊवाले अंकल हाम्रो स्वागतमा जुसको प्याक खोलिहाल्छन् । 

इण्डोनेसीयाली नागरीक डा. वाम्वाङले यहि जुलाई ७ मा साइतामास्थित वाको यूनिभर्सिटीमा आयोजना हुने एसियन फेस्टीभल हेर्न निम्ता दिए । विश्वविद्यालय र प्राध्यापकहरुसँग चिनजान पनि हुने एसियाली कलासंस्कृतिको अवलोकन पनि गर्न पाइने दुई उद्देश्य वोकेर सो दिन म चुरुकावा स्टेशन हुँदै त्यसतर्फ लागें । कार्यक्रमस्थलमा पुग्दा जापानी महिला यूकी ओखामोतो नेपाली गुन्यूचोलीमा सजिएर कार्यक्रम सञ्चालन गरिरहेकी रहिछन् । उनले समग्र स्रोतालाई नेपालको चाडपर्व र रीतिरिवाजको वारेमा वताइन् । सेर्पा नाच, राईजातिको चण्डीनाच, गुरुङजातिको कौडा नाच र पर्वते झ्याउरे नाच गरी ४ वटा आइटम प्रदर्शन गरिन् उनले । साथमा प्राध्यापक र विद्यार्थीहरुलाई समेत नचाएर सिंगो विश्वविद्यालयलाई मन्त्रमुग्ध वनाइन् । सो फेस्टिभलको आकर्षण नेपाल वन्न सकेकोमा मलाई हर्षले विभोर वनायो । किर्गिस्तान, मंगोलिया र इण्डोनेसिया भन्दा नेपालको प्रस्तुति अब्वल भएको सवैले महशुस गरे । कार्यक्रमको अन्तमा डा. वाम्वाङ र उनै नेपालप्रेमी जापानी महिला ओखामोतोलाई मुरीमुरी धन्यवाद दिंदै मनभरी खुसी साँचेर विदावारी भएँ । 

त्यसैले लाग्छ,, विश्वको एउटा कुनामा कुचुक्क परेर वसेको नेपालको मानचित्रप्रति संसारको नजर वढ्दै गएको छ । विश्वका जुनसुकै भूगोलमा पुगेपनि नेपाली राष्ट्र र मिलनसार नेपाली जातिको परिचय दिन अनि असल प्रभाव छोड्न हामी कसैले पनि विलम्व गर्नु हुँदैन । समय गतिशिल छ, त्यसैले विलम्व नगरौं । विदेशमा नेपाललाई माया गर्ने एउटा मानिस फलाउनु अन्तत्वगत्वा देशप्रतिको विशाल योगदान पनि हो ।